नियम ४५
प्रतिवेदन दिनु पर्ने
निर्वाचन अधिकृतले निर्वाचनको परिणाम प्रकाशन गरी सकेपछि देहाय बमोजिमको विवरण समावेश भएको प्रतिवेदन तयार गरी आयोग समक्ष पेश गर्नु पर्नेछ ः- (क) मतदाताको सङ्ख्या, (ख) उम्मेदवारको विवरण, (ग) खसेको कुल मत, (घ) सदर र बदर मत, (ङ) एकजना मात्र सदस्य निर्वाचित हुनेमा प्रत्येक उम्मेदवारले प्राप्त गरेको मत, (च) एकजना भन्दा बढी सदस्य निर्वाचित हुनेमा सबै मतदाताले मत दिएको प्राथमिकताक्रम जनिने मत विवरण, (छ) एकजना भन्दा बढी सदस्य निर्वाचित हुनेमा प्रत्येक उम्मेदवारले प्राप्त गरेको पहिलो प्राथमिकताको मत र मतगणना सम्पन्न हुँदा कायम भएको प्रत्येक उम्मेदवारको मत, (ज) निर्वाचित उम्मेदवारको विवरण, (झ) निर्वाचनमा खटिएका कर्मचारीको विवरण, (ञ) निर्वाचनमा भएको खर्चको विवरण, (ट) आयोगले तोकेको अन्य विवरण ।